‘म आशदेव यादव । म कलैया उपमहानगरपालिका – २ कवलपुरमा बस्छु जुन नेपालमै पर्छ तर राज्यले मलाई अझै यो देशको नागारिक मानेको छैन ।
म जन्मेको नै यहीं हुँ । म २७ वर्षको भईसकें । देशको कानुनले १६ वर्षमै ‘तँ यो देशको नागरिक होस्’ भनेर नागरिकताको प्रमाणपत्र दिए पनि २७ वर्ष पुगिसक्दा पनि यो देशले मलाई नागरिकताको प्रमाणपत्र दिन मानेको छैन । म अझै यो देशको नागरिक बन्न लडिरहेको छु । अझै कति उमेरसम्म लड्नु पर्ने हो त्यो पनि थाहा छैन । एउटा आम मान्छे भएर जन्मिनु यो देशमा निकै गाह्रो छ त्यो भोग्नेलाई मात्र थाहा छ, सत्तामा बसेर अनेक कल्पना गर्दै बस्नेलाई सायदै थाहा होला ।
बुवा [आफ्नो] नागरिकता नबनाएरै बित्नुभयो, आमाको वंशज र दाईको जन्मसिद्ध नागरिकता छ । अहिले मेरो घरमा अझै ७ जनाको नगारिकता छैन । अनि कति तनाव हुन्छ, घरिघरि त मर्दिम जस्तो नि लाग्छ । कति लड्नु यो लडाइँ? के चैं गर्नु म पनि यहि देशमा जन्मेको, बसेको हुँ भनेर प्रमाणित गर्नलाई।
सानैदेखिको सपना थियो पुलिस अथवा आर्मीमा भिड्ने तर म नभिड्दै रिजेकटेड भएँ- कारण सरकारी सेवामा भिड्न त पहिला म यो देशको नागरिक हुनुपर्यो जुन मलाई अहिलेसम्म राज्यले मानेको छैन ।
अहिले म राजमिस्त्रीको काम गरिरहेको छु किनभने यसमा मैले यो देशको नागरिक हो कि होइन भनेर स्पष्टीकरण दिनुपरेन । एउटा बाइक छ दाईको नाममा चलाउछु किनकि नागरिकता नभएर मैले ड्राइभिङ लाइसेन्स बनाउन पनि पाईन । त्यसैले, बाईक त चलाउछु तर दाईको नाममा । अनि लाईसेन्स नभएसी आफ्नै गाउँठाउँ-वरिपरि बाहेक अरु ठाउँमा जान सक्दिनँ । यस्तो कुराहरुले गर्दा सार्है दिक्क लाग्छ, रिस उठ्छ ।
अब यो देशले नागरिक माने पनि नमाने पनि म एउटा मान्छे हुँ । मेरो पनि परिवार छ । मैले आफ्नो गुजारा पनि त चलाउनुपर्यो । आफ्नो सपनासँग त लड्न सकिनँ किनकि धेरै ढिला भईसक्यो । अब त उमेरले पनि साथ दिंदैन तैपनि यो देशको नागारिक बन्ने लडाइँ लड़द्दै म आफ्नो दैनिक जिन्दगीको लडाइँसँग पनि लडीनै रहेको छु ।
सधैं राजमिस्त्री गरेर मात्रै पनि जिन्दगी चल्छ जस्तो लाग्दैन, व्यापार गर्ने सोँच आएको छ । अहिले खान लाउन पुगेर मात्र पनि त भएन, पछिको लागि पनि सोच्नुपर्यो । बालबच्चा छन्, उनीहरुको राम्रो भविष्यको लागि पनि त मैले अहिले मिहिनेत गर्नुपर्छ तर सोचेर मात्र पनि त नहुँदो रहेछ । व्यापार गर्न लगानी खोज्नुपर्यो, व्यवसाय दर्ता गराउनुपर्ला, बैंक खाता हुनुपर्ला, फेरि सबै कुरा उही नागरिकतामै आएर ठोक्किन्छ ।
बार बार मेरो सपना र सोंच मात्र टुक्रिदैन, यो राज्यले मलाई ‘तँ यो देशको नागरिक हो र ?’ भनेर गरिरहेको प्रश्नले अत्ति नै मन दुख्छ ।
कक्षा ८ सम्म पढेको छु । ‘नेपाली’ नागरिकता पाएका आफ्नो साथीहरू राम्रो ठाउँमा पुगेको, आर्थिक अवस्था मजबुत बनाएको देख्दा आफ्नो नियतिलाई कोस्ने बाहेक अहँ केही गर्न सक्दिनँ । सक्ने जति सबै त गरिसकेँ ।
जिल्ला प्रशासन धाउँन थालेको पनि ११ वर्ष पो हुन लाग्यो त । [उच्च] अदालत [जनकपुरको अस्थायी इजलाज वीरगञ्ज] मा मुद्दा गरेर जितेको नि केही समय भईसक्यो । अदालतले समेत फैसला पक्षमा सुनाईसक्यो तर के गर्नु प्रशासनले “नियम आउँदै छ, [नागरिकता विधेयक पास भएपछि], आएपछि बन्छ” भन्छ । तर त्यो आउने चैं कहिले हो , अझै हामीले कति कुर्नुपर्ने हो, मेरो काम गर्ने उमेर छदै आउला कि म बुढो भईसकेपछि आउला कि मेरो बच्चाबच्चीले नि मैले जस्तै तनाव भोग्नुपर्ने हो, खै म त केहि मेसो पाउँदिन ।
घरिघरि त म पर्खाईको यो घडीहरु सम्झिदा सम्झिदै उल्कै अत्तालिंछु अनि फ्याट्टै यो घर छोडेर, यो देश छोडेर हिंडीदिन मन लाग्छ तर फेरि ठण्डा भएर सोच्छु यो देश मेरो पनि होइन र ? यहीँ जन्मेको म अरु कहाँ जानूँ र ?
खाना खाने बेलामा नागरिकताको झझल्को आयो भने खाना नि घाँटी तल उत्रिँदैन । नागरीकता नभएर कहिलेकाहिं यस्तो टेन्सन हुन्छ कि घरको माहोल नै पुरै बिग्रिन्छ । किनकि जे गर्न खोज्यो त्यहि एउटा नागरिकता अड्चन बन्दिन्छ । अठोट र मिहिनेत मात्र भएर पनि नहुँदो रहेछ त ।
अरु त अरु मेरो नागरिकता नभएर मेरी ३ वर्षीय छोरीको जन्मदर्ता पनि बनाउन सकेको छैन । नयाँ नियम आएछ कुन्नि, बिना जन्मदर्ता स्कूलले भर्ना लिँदैन । [प्रदेश] सरकारको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अन्तर्गत पाउने सुविधाबाट नि मेरी छोरी वञ्चित छे । कहाँबाट बेटी पढाउने र बचाउने र अगाडि बढाउने ? अब यो समस्याको शिकार म मात्र होइन भर्खर जन्मेको त्यो मेरो सानी छोरी समेत भईसक्यो ।
अनि यस्तो तनाव हामीलाई नागरिकता दिने नियम आयो कि सुरुमै भारतकै मान्छेले मात्र नागरिकता बाड्ने जस्तो गर्नेहरुलाई के थाहा देशकै नागरिकले यस्तो मानसिक तनावबाट गुज्रिनु परेको छ मात्रै त्यो नियम पास नभएर । कति लड्नु, को कोसँग लड्नु अब त मेरो यो ज्यान थाकिसक्यो । कहिलेकाहिँ त यस्तो लाग्छ म अब यो लडाइँसँग थाकिसकें । घरिघरि मरूँ मरूँ पनि लाग्छ।’
नोट: (हामी आम मान्छेहरूको कथा संकलन गर्ने क्रममा पर्सा पुगेका थियौं । हामीले आशदेव यादवलाई त्यहिँ भेटेका हौँ । भुइँमान्छेका कथाहरुमा नागरिकताविहिनहरुको कथा पनि महत्वपूर्ण कथा हो । बेलाबेला यो बारेमा मिडियामा कुरा उठ्छ, सडकहरु ततिन्छन्, संसद तातिन्छ तर समस्या ज्युँका त्युँ छ, कैयौं भुइँमान्छेहरु नागरिकताविहिन भएर बाचिरहनु परेको छ, आफ्नो दैनिकीसँग लडिरहनु परेको छ । हाम्रो खबरदारी बस् यत्ति हो कि नागरिकताको समस्या जतिसक्दो छिटो समाधान होस् र सबै नागरिकताविहिनहरुले नागरिकता पाएर आफ्नो जीवन सहज तरिकाले सम्मानित नागरिक भएर बाँच्न पाउन् ! त्यसैले, हामीले यो ‘नागरिकताविहिनहरुको कथा’ सिरिज सुरु गरेका छौं ।)
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.






