सरकारले लकडाउन थपेपछि घरबाहिर रहेका मानिसहरू घर जान तम्सिएका थिए । शहरमा पेट पाल्न सकिन्न भनेर मात्र होइन आफ्नो मान्छेसँग हुँदा संकटसँग लड्न आड-भरोसा मिल्छ भनेर पनि होला मान्छेहरू हिम्मत बटुलेर घर फर्कन लागेका । कति मानिस तरकारी बोक्ने गाडी, दूधको गाडी, एम्बुलेन्स चढेर घर गए । कति जना पैदल हिँडे । बाटोमा अचानक गाडी भेटियो र त्यसले लान मान्यो भने त्यसैमा चढेर गए । त्यसो भएन भने मानिसहरू एक हप्तासम्म हिँडेर भए पनि घर पुगेरै छाडे ।
सुन्दा अचम्म पनि लाग्ने । त्यो हिम्मत देखेर गर्व पनि लाग्ने ।
आफ्नो घर जान लम्किएको त्यो भीडमा म भने अटाउन सकिनँ । मेरा आफ्नै कारण थिए । मैले त्यसो गर्ने आँट गर्न सकिनँ ।
हिँडेरै घर जाने मजदुर जस्तै गरी म पनि यो शहरका लागि पराई हुँ । मैले यो शहरलाई मजदुरी गरेर योगदान दिएको नहुँला तर ती मजदुर र म सपनाको यस शहरमा आउनुको उद्देश्य एउटै होः आफ्नो भविष्य बनाउनु ।
यो शहरमा हामीले आफ्नो भविष्य बनाउन सकौँला वा नसकौँला त्यसको लेखाजोखा समय आएपछि होला तर अहिले विपत्मा यो शहरले हामी जस्ता देशको अर्को कुनाबाट आएका धेरैलाई आफ्नो ठानेन । हामी डेरामा बसिदिएर धेरैको घर चलेको छ, हामीले यहाँ पढिदिएर स्कुल, कलेज चलेका छन, हामीले मजदुरी गरिदिएर ठूलाठूला घर र महल खडा भएका छन् । तर यस्तो विपत्मा हामी पराई भयौं यो शहरका लागि ।
कसैका लागि हामी कोरोनाको त्रासका कारण बन्यौँ भने कसैका लागि के । कतैकतै त्यही डरले कोठामा बस्नेहरूलाई घरबेटीले निकाले भन्ने समाचार सुनियो । कतै स्थानीय सरकारले नै बाहिरबाट आएका डेरावाललाई घर आउन नदिन घरबेटीलाई कडा आदेश दिएको पनि सुनियो । कहिले घर जान चाहनेहरूलाई सरकारले घरी घर फर्कन दिने अनि घरी नदिने भनेर ठूलो मजाक गर्यो ।
डेरावालहरूलाई निकै हलुका गरी लियो यो शहरले । हामीहरूको भावनालाई अलिकति पनि बुझ्ने कोसिस गरेन । साँच्चि नै शहरमा मानवीय मानवीय संवेदना हराईसकेछ ।
दुई महिना भयो देशमा लकडाउन भएको । अनि म काठमाडौंमा घरको एउटा कोठामा घरवंदी भएको । यसरी घरवंदी भएर बस्दा आफ्नो घरपरिवारसँगै हुन नपाउनु मात्र समस्या थिएन । सानो कोठामा उकुसमुकुस भएर सुरक्षित हुनुपर्ने अवस्था मेरा लागि झन् ठूलो पीडा थियो ।
कोठाको एउटा कुनामा प्याक गरेर राखेको ब्यागले समेत मैले जस्तै यो कोरोनाको त्रास र लकडाउन कहिले सकिएला र घर अनि परिवार भएको ठाउँमा पुगुँला भनेर कुरिरहेको देख्छु । हामी दुवै लाचार छौं अहिले । हाम्रो उकुसमुकुस अरू कसैले महसुस गर्दैन र गर्न पनि सक्दैन । मेरो ब्याग घर जान तयार लक्ड सामानहरूबाट मुक्त हुन चाहन्छ भने म यो लक्ड डेराबाट ।
लकडाउन भएयता तनावले गर्दा होला मेरा आखाँ धेरै पटक अनायासै रसाएका छन् । तनाव घटाउन र अशान्त मनलाई शान्त बनाउन हेरक दिन एक घण्टा ध्यान गर्न थालेको छु । शरीरलाई तन्दुरुस्त राख्न दिनै पिच्छे व्यायाम पनि गर्छु । यो शहरले माया गरेन भन्दैमा आफैले आफैलाई त माया गर्न छोड्नु भएन नि । आफू कोठाभित्र लक्ड भए पनि बाहिर कहाँ के भइरहेछ भनेर थाहा पाउन टिभी हेर्छु, सामाजिक संजाल चेक गर्छु ।
दिन बित्नका लागि मात्र बितिरहेछन् जस्तो लाग्छ । कहिलेकाहीं एउटै कोठामा दिनरात आफ्नो घर र परिवारबाट टाढा एक्लै बस्नुपर्दा म जेलमा छु कि जस्तो लाग्छ । कहिलेकाहीं कोरोनाले लैजाला नलैजाला यस कोठाले चाहिँ निमोठेर लैजाला कि जस्तो लाग्छ ।
म बैंकमा काम गर्छु । लकडाउनको २० दिनपश्चात् पालोपालो अफिस जानुपर्ने खबर आयो । आजभोलि दिन बिराएर केही समय अफिस जान्छु । यसले गर्दा अलिकति भए पनि बन्द कोठाबाट बाहिर खुला सास फेर्न पाएको छु ।
घरबाट फोन आइरहन्छ । मेरो चिन्ता लागेर होला ।
यस्तो बेला काम गर्न अलिअलि डर त लाग्छ तर सुरक्षित रहन सबै कोसिस गर्छौं हामी । सधैं डराएर कति दिन बस्ने होला ? यतिका दिन डराएर बस्दा पनि खै त संक्रमित बढेको बढ्यै छ । उल्टो मान्छेका काम ठप्प भएका छन् । मान्छेका काम हराइसके । खान लाउन हम्मेहम्मे हुन थालिसक्यो । त्यसैले अब बिस्तारै डराउन छोड्नुपर्छ भन्ने लाग्छ मलाई ।
म विद्यार्थी पनि हुँ । अहिले भ्याएसम्म कलेजले दिएको अनलाइन क्लास लिन्छु । अहिले यो शहरभित्रको बन्द कोठामा संकटसँग लड्ने हिम्मत बटुल्दै छु — घरी आफूले आफैलाई व्यस्त बनाएर घरी सकारात्मक कुरा सोचेर । दु:खका बेला आफैले आफैलाई सम्हाल्नुबाहेक अरू उपाय छैन भन्ने कुरा लकडाउनले हामीलाई सिकाएको छ । यसरी दुई महिना बन्दी भएर बसेपछि अब जीवनमा जस्तोसुकै संकट आए पनि सामना गर्न सक्छु भन्ने हिम्मत पलाएको छ ।







