वैशाख । किसानहरूले गहुँ काट्ने र भित्र्याउने महिना । हाम्रोतिर कोही किसान खुसी थिए कोही साह्रै चिन्तित । लकडाउनले आफ्नो ३० औं दिन मनाइरहेको थियो । कोरोना भाइरसले सातो लिंदै थियो । खेतमा पाकेको गहुँले सुनले जस्तै चमक छरेको थियो । किसानहरू भने सरकारको निर्देशन पालना गर्दै घरभित्र लकडाउनमा थिए । उता खेतको गहुँले उनीहरूलाई जिस्क्याउँदै ‘आउ आउ’ भन्दै थियो ।
म र मेरो परिवार लकडाउन तोडेर गहुँ समयमै भित्र्याउन पाए, धान रोप्न खेत खन्न हुन्थ्यो भन्नेमा थियौं । त्यत्तिकैमा केही दिनमा टोखा नगरपालिकाले खेती गर्न छुट पाइने भनेर सूचना निकाल्यो । अनि किसानहरू धमाधम गहुँ काट्न थाले ।
म फोटोग्राफी गर्छु । गत वर्ष खेतमा गहुँ काट्ने बेलामा मलाई यो साल कसले बिहे गर्छ, टोखामा फोटोग्राफी गर्नुपर्ने के कस्ता घटना हुँदैछन् भन्नेबारे चासो हुन्थ्यो ।
हामी फोटोग्राफरहरूका लागि वैशाख कामको चापाचाप हुने महिना हो किनकि वैशाखमा धेरै बिहे हुन्छ तर यसपालि बिहे स्थगित भयो, हुनेको पनि छोटोछरितो भयो क्यार । वैशाख महिनामा एकदिन सास फेर्न नपाउने मेरो क्यामेरा कोठामा थन्किएको धेरै दिन भयो । क्यामेरा थन्किनु भनेको म बेरोजगार हुनु हो । मैले यो काम थाले यता वैशाखमा खल्ती रित्तो भएको यो पहिलो पटक हो ।
कोरोनाले मेरो हातको क्यामेरा खोसेर कोदाली थमाइदिएको छ ।
कोरोना आउनुअघि काम धेरै आउन थालेको थियो । यसपालि कमाएको पैसामा थपथाप गरेर भूकम्पले भत्काएको घर बनाउने विचार थियो । तर कोरोनाले मेरा सपना सबै उडाइदियो । क्यारियर भर्खर सुरु गरेका हामीहरूलाई यसले रुनु न हाँस्नु बनाइदिएको छ ।
कोरोनाले गर्दा मेलापातमा गरिने गफका विषय फेरिएका छन । कोरोनाको भयले गर्दा होला सबै जना कोरोना सम्बन्धी जानकारी अपडेट गर्छन् । यो देशमा यति जना त्यो देशमा त्यति भन्दै ।
सुरुमा नेपालमा अहिलेसम्म कोरोना उति छैन भन्दै केही मक्ख थिए । अहिले नपत्याउँदो पाराले संक्रमित बढेको देखेर कोही निरास छन् । कोही हाम्रो खान्कीले गर्दा हामी नेपालीलाई केही हुँदैन भन्थे । कोही प्रधानमन्त्रीले भनेको भनेर बेसार अदुवा, लसुन खायो भने केही हुन्न भन्थे, रोगसँग लड्ने हाम्रो क्षमता धेरै छ पनि भन्थे । हामीलाई केही हुन्न भनेर चाहिनेभन्दा बढी आत्माविश्वास थियो धेरैमा ।
सुरुसुरुमा त घरमा बनाएको रक्सी पनि हातमा लगाउने स्यानीटाइजर जस्तै भइसकेको थियो धेरैका लागि । हुन त नेपालीहरू आफै डाक्टर हुन् । अझ प्रधानमन्त्रीले पनि प्रमाणित गरिदिनुभयो । विज्ञ एउटा भन्छन् उहाँ अर्को भन्नुहुन्छ । घरमा अजि अजा, मासम्मले भनेको त ठीकै हो भन्न मिल्थ्यो । प्रधानमन्त्रीले नै यस्तो भन्दा चाहिँ कस्तो कस्तो लाग्ने ! मलाई मात्र हो कि अरूलाई नि हो कुन्नि !
हामी बिहानदेखि नै खेतमा जम्मा हुन्थ्यौं । लकडाउन अलिक कडा हुँदैको कुरो । एकदिन धेरै हँसिया बोकेको एक जना मान्छे हाम्रो टोलमा आयो । हामी घरभित्र गएर बस्यौं । हामीलाई त्यो मान्छे पुलिस हो जस्तो लाग्यो- लकडाउन तोडेर गहुँ काट्ने किसानहरूको हँसिया खोस्दै हिँडेको पुलिस जस्तो । पहिला पहिला हाम्रोतिर अटेर गरेर बालुवा निकाल्दा पुलिसले बालुवा निकाल्ने सामान खोसेर लाने गर्थ्यो । त्यसैले हामीलाई ऊ सिभिल ड्रेसमा आएको पुलिस जस्तो लाग्यो । त्यति बेला कोरोनाको भन्दा बढी डर पुलिसको लागेको थियो ।
‘हँसिया किन्ने हो ?’ भनेर उसले सोधेपछि पो थाहा भयो त्यो हँसिया बेच्ने मान्छे रहेछ । त्यसपछि हामी फेरि आफ्नो काममा लाग्यौं । यसरी मैले १०/१५ दिन खेतमा बिताएँ । धेरैलाई लकडाउन हामी किसानलाई जस्तै निरस अथवा रमाइलो भयो भन्ने पत्तै पो भएन कि !
सुरुसुरुमा लकडाउन उल्कै टाइट भएका बेलामा चाहिँ खेतमा काम बितेको छ, आफू घरमा बस्नुपरेको छ भनेर अलिक दिक्क अनि झिझो लागेको थियो । काम गर्न पाएपछि त फेसबुक धरी हेर्न भ्याइनँ मैले । अब रोपाइँ गर्ने बेला भएको छ । अझ एक-डेढ महिना हामी खेतमै व्यस्त हुन्छौं । खेतमा काम गर्दा सावधान भने हुन्छौँ ।
अरू त त्यस्तै हो मेरी मा दङ्ग हुनुहुन्छ छोरोले ज्ञानी भएर घरखेतको काम गरेको देखेर । न कतै जाने चटारो न व्यस्त जिन्दगी।




