मलाई त यो लकडाउन वज्रपात नै बनेर आयो । विदेशको जागिर छाडेर स्वदेशमै केही गरौँ भनेर ट्याक्सी किनेर चलाएको हो । झण्डै ५ वर्ष विदेश बसेर म नेपाल फर्किएको हुँ । नेपालमा काम गर्न थालेको २-३ वर्षमै मलाई कठिन अवस्था आयो । ट्याक्सी चलाउन थालेको १ वर्ष पनि भएको थिएन । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारणले ट्याक्सी चलाउन पाइएन । जसले गर्दा कमाइको आधार नै बन्द भयो ।
ट्याक्सी नचलाए पनि ऋण लिएको फाइनान्सले भने किस्ताका लागि सूचना निकाल्यो । असार १५ गतेसम्म जसरी पनि किस्ता तिर्नुपर्ने भएपछि मैले साथीभाइसँग सापटी मागेर ऋण तिरें । फाइनान्सले समयमै तिरेकाले ८ प्रतिशत छुट पनि दियो । तर मैले फाइनान्सको १८ प्रतिशत ब्याज तिर्नका लागि ३६ प्रतिशत ब्याजमा ऋण खोज्नुपर्यो । ब्याज नतिरौं भने गाडी चलाइरहेको ठाउँमा फाइनान्सले गाडी खोसिदियो भने के गर्ने भन्ने डरले पनि मैले किस्ता तिरेको हो । किनकि हामी त ट्याक्सी लिएर विभिन्न ठाउँहरुमा पुगिरहनुपर्छ ।
मैले गाडीका लागि मात्रै ६२ हजार ऋण खोजें भने घर भाडा अनि अरू घर खर्चको लागि पनि ऋण नै खोजेको छु । अहिले खाने खर्च पनि ऋण नै हो । उस्तै कमजोर मन हुनेले त आत्महत्या नै गर्छन् कि जस्तो लाग्छ । म त आत्महत्यालाई निर्मूल पार्नुपर्छ भनेर लागेको मान्छे भएकोले मन बलियो पारेर बसेको छु ।
सरकारले लकडाउन गर्यो भनेर सेवा दिनेहरुलाई त बहाना भयो तर हामी ऋण तिर्न पर्नेहरु लकडाउन भनेर उम्किन पाउँदैनौं रहेछ । अर्कोतर्फ साना बच्चालाई पनि लकडाउन भनेर भएन उनीहरुले मागेको जसरी पनि पूरा गरिदिनुपर्यो । बाउआमाको मन पनि त मान्दैन ।
कतिपय ठाउँहरुमा लकडाउनले अवसर पनि दियो होला तर हामी जस्तो श्रम गरेर खानेलाई केही भएन । सरकारले चाहेको भए लकडाउन एउटा अवसर बनाउन पनि सक्थ्यो । स्थानीय सरकारले आफ्ना विकास निर्माणका कामहरु गर्न सक्ने थिए।
हामी युवालाई कस्तो कामभन्दा पनि मात्र ‘काम’ चाहिएको थियो । यति धेरै विकास निर्माणका आयोजनाहरु अलपत्र परेका छन् भौतिक दूरी कायम गरेर गरेको भए विकास निर्माणको काम पनि सकिन्थ्यो । हामीलाई पनि अलिअलि दु:खजिलो चल्थ्यो । यसतर्फ सरकारका निकायहरुको ध्यान गएन मलाई यसमै दुःख लागेको छ ।
मेरो ट्याक्सी पो चलाउन मिल्थेन तर अरू काम त गर्न सकिन्थ्यो । यस्तो बेलामा ट्याक्सीसँग जोडेर मात्रै काम गर्नुपर्छ भन्ने होइन । हामी युवालाई अवसर चाहिएको थियो । त्यसका लागि हामीले सानो ठूलो काम पनि भन्ने थिएनौं । हामीलाई इटा, ढुंगा बोक्न गाह्रो थिएन । कुनै पनि सडक निर्माण र मर्मतमा हामीलाई सरकारले खटाउन सक्थ्यो । सरकारले नेतृत्वदायी भूमिका खेलेको भए असम्भव थिएन । कसलाई कस्तो काम दिने भनेर स्थानीय तहले सर्वेक्षण गरेको भए असम्भव पनि थिएन । अहिले पनि काठमाडौंका सडकको हालत कस्तो छ भन्ने सबैलाई थाहा छ । अरू पनि काम थिए होलान् । सरकारले यस्तो गरेको भए एकातिर विकास निर्माणको काम हुने अर्कोतिर हामीलाई राहत पनि हुन्थ्यो । सरकारले स्थानीय तहमार्फत दिएको राहतले कसलाई पुग्ने हो र तर काम दिएको भए सरकारको अनावश्यक खर्च पनि हुने थिएन । अनि हामीलाई पनि सरकारले हाम्रो मर्म बुझ्यो जस्तो लाग्ने थियो ।
लकडाउनको बेलामा मेरा कतिपय साथीहरुले विभेदको घटना सुनाएका थिए तर मैले भने कुनै किसिमको विभेद त भोग्नुपरेन ।
आफू बसेको ठाउँमा कुनै किसिमको छुट मैले पाइन अनि अनावश्यक किचकिच पनि सहनुपरेन । चिनेको पसल भएकोले उधारोमा रासन लिन पाएको छु । अहिले अप्ठ्यारो परेकाले चाहिएको लैजानु आफ्नो अनुकूल भएपछि तिर्नुहोला भनेकाले मलाई सजिलो भएको छ । यो बेलामा चिनेका पसलवालाले गरेको सहयोगले मलाई राहतको लाइनमा बस्नुपरेन यो शहरमा त्यही ठूलो कुरा भयो ।
धन्न यस बेलामा छोराछोरीको अनलाइन कक्षा नभएकाले मलाई केही राहत भएको छ । तर अब भदौ १ गतेदेखि नयाँ भर्नाको कुरा आएको छ । भर्ना हुनपर्यो भनेर स्कुलले चिठी समेत पठाएको छ । एकातिर आफ्नो व्यवसायको अन्यौलता छ अनि अर्कोतिर छोराछोरीलाई कसरी अगाडि बढाउने भन्ने पनि चिन्ता रहेको छ । अब के गर्ने भनेर पनि सोच्न सकिरहेको छैन । किनकि यो महामारीले कस्तो रूप लिन्छ कहिले निर्मूल हुन्छ भन्ने पनि कसैलाई थाहा छैन । त्यसैले धैर्य गरेर बस्नुको कुनै विकल्प छैन ।




