म ट्रेकिङ पेशामा लागेको ११ वर्ष भयो । म निकै दु:ख गरेर हो यो पेशामा छिरेको । सन् २००९ तिर म पोर्टरको रुपमा यो पेशामा छिरेको हुँ । सुरुका ३–४ वर्ष धेरै दु:ख भयो पछि भाषा सिकेपछि अलि राम्रो हुन थाल्यो । अहिले काठमाडौंको ठमेलमा रहेको द ग्रेट एडभेन्चर ट्रेक एन्ड एक्सपिडिसनमा गाइडको रूपमा काम गरिराखेको छु । कोभिड-१९ ले गर्दा काम पूरै ठप्प भएको छ । मेरो त आयस्रोत पनि यही ट्रेकिङ मात्रै हो । काम हुँदा त पैसा राम्रै कमाउँथें । विदेशीहरुलाई घुमाउँदाखेरि आफ्नो खर्च हुन्थेन । फेरि घुम्न पनि पाइन्थ्यो । नेपालको धेरैजसो पहाडी क्षेत्र गाइड भएर घुमिसकेको छु ।
विगत ७ वर्षदेखि काठमाडौंमा बस्छु । काठमाडौंमा भाडामा परिवारलाई राखेर, बच्चालाई पढाउन खर्च सबै पुगिराखेको थियो । यो पेशामा लागेर मैले धेरै मान्छेसित परिचित हुने अवसर पनि पाएँ । मलाई मेरो पेशासँग कुनै गुनासो थिएन । सबै कुरा सन्तोषजनक चलिरहेको थियो । तर यही जीवनकालमा यस्तो पनि भोग्नुपर्ने रहेछ भनेर कहिल्यै लागेन । लकडाउन यति लामो समयसम्म लम्बिन्छ र विदेशीहरु एकाएक आउनै ठप्पै हुन्छ भनेर कहिल्यै सोचेको पनि थिएन । फागुन, चैत, वैशाख, जेठ र असार ननस्टप कमाइ हुने मौसम हो, पुस र माघ महिना भने अलि कम हुन्छन् पर्यटक । त्यो माथि झन् यसपालि त नेपालले भ्रमण वर्ष २०२० पनि मनाउँदै थियो । यसपालि त हाम्रो भ्याई नभ्याई हुने समय थियो । अहिले कतै पर पर्यटकलाई घुमाउन हिँड्न पर्ने बेला यसरी घरमा अड्केर बस्नुपरेको छ । यो कोरोनाले गर्दा मेरो जीवनको आर्थिक क्षेत्रमा धेरै नै असर परेको छ । हुन त म मात्रै होइन म जस्तै अरू पर्यटन क्षेत्रमा लागेको सबैको नोक्सानी भएको छ । अहिले ट्रेकिङ कम्पनीका साहूहरू सटर लगाएर बस्नुपरेको छ । यो कोरोना कहरमा सबैभन्दा बढी टुरिजम सेक्टरलाई असर परेको छ जस्तो लाग्छ । देशको लागि पनि घाटा भएको छ, झन् यो वर्ष त भ्रमण वर्षको त्यत्रो लक्ष्य थियो देशको । साह्रै घाटा भयो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




