वसन्त ऋतुले वातावरणमा नयाँपन ल्याउने समय तर त्यति रमाईलो थिएन मौसम। विगत केहि दिनदेखि धमिलो आकाश र वर्षाले प्रकृतिलाई खुल्न दिएको थिएन । जनजीवन सामान्य रुपमा नै अगाडि बढिरहेको थियो । बारीमा छरेको मकैको पनि चार पाँच पात भएर गोड्ने बेला भएको थियो । खेतमा गहुँ काट्ने बेला पनि भईसकेको थियो । यी र यस्तै कार्यमा सबैको आ–आफ्नो दिनचर्या अगाडि बढिरहेको थियो मेरो गाउँ दोलखामा । म गाउँको स्कुलमा पढाउथेँ। स्कुल बिदा थियो, त्यसैले म पनि बारीमा मकै गोड्न लागेको थिँए – शनिबार को त्यो दिन। लगभग २१ औँ वसन्त पार गर्दासम्म मेरो जीवनमा कति शनिबार आए-गए मलाई सायदै कुनै याद होला । आजका दिनसम्म धेरै जसो शनिबारी बिहानहरु दोलखामा घामसँग लुकामारी गर्दाको गौरी शंकर हिमालको स्वेत कान्ति सँगको संसर्गमा बितेका छन् । साँझहरु अस्ताउँदो सूर्यको लालीको स्पर्सले झुमेका छन् भने दिन प्राकृतिक मनोरम दृश्यसँग भुलेका छन् तर त्यो शनिबार एउटा भिन्नै अनुभव लिएर आउछ भन्ने कसले पो सोचेको थियो र । दिनमा जिन्दगी र मृत्युसँगको संघर्ष अनि रातमा गाँस र बासको समस्या।
एक्कासी जमिन हल्लिन लाग्यो । कतै बम पड्केको जस्तो ठूला ठूला आवाज जमिनमुनिबाट आउन थाल्यो । खैलाबैला मच्चियो, सबैको होस उड्यो, पलभरमा नै बारीको सिरान पाटामा रहेको घर लड्यो र वरपर धुलोका बाक्ला कणहरुले दृश्यलाई धमिलो बनाइदियो । त्यसपछि मात्र थाहा पाएँ भुकम्प पो आएछ, हतार हतार घर गएँ, घरमा सबै बाहिर भएकोले शकुसल भएकोमा केहि सन्तोषको सास फेरें । त्यसपछि पनि लगातार जमिन हल्लिदै थियो । गाँउमा भएका घरहरु कुनै लडे भने कुनै चर्किए, भाग्यवश हाम्रो गाँउमा त्यस्तो कुनै अप्रिय घटना भने हुन पाएन । सबैमा त्रास र भय अनि रोदनको अनुहार प्रतित भईरहेको थियो भने लगातार जमिन भने काँपिरहेको नै थियो । त्यसको बावजुत पनि अत्यावश्यक सामाग्री घरबाट निकाल्यौँ । त्यसपछि हामी सबै सुरक्षित स्थानको खोजिमा सामुदायिक भवनको चौरमा जम्मा भयौँ । एकैछिनमा आकाश पनि गुन्जने गरी हेलिकप्टरहरु उद्दारका लागि लागिपरेको दृश्य देखीयो, जसले थप सशंकित बनायो । क्षितिजमा पुगेको घामले रातको संकेत गरिरहेको थियो । घरमा बस्ने कसैको स्थिती थिएन । त्यसैले हामी सबै मिलेर बस्नका लागी चौरमा नै बासको व्यवस्था गर्न लाग्यौँ । लगभग १५० जनाको लागि रासन पानीको व्यवस्था पनि गर्यौं । सबै मिलेर बस्दा सामूहिक रुपमा खादा हामीलाई केही आत्मविश्वास मिलेको थियो । यसै बिचमा ठाउँ ठाउँमा पनि भुकम्पले गर्दा ठूलो मानविय, भौतिक, ऐतिहासिक धरोहर, आर्थिक क्षति भएको खबरहरु सुन्नमा आयो । केहि पछि मात्र थाहा भयो गोरखा केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भुकम्प गएको रहेछ, महाभुकम्पको नामले न्वारन गरिदिन पनि भ्याए खै कसले हो। कसैको आँखामा निन्द्रा थिएन, सबै चिन्तित थिए, त्रसित थिए, ठूला ठूला गर्जनका साथ भूकम्प भने गईरहेको थियो । त्यो रात त्यतिकै बित्यो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









