किसान खेती गर्दै थिए । मजदुर मजदुरी गर्दै थिए । व्यापारीको व्यापार अनि कालो बजारीको कालो बजार चल्दै थियो । एउटा फरक वेगमा हुइँकिरहेको थियो संसार । रेल, जेटभन्दा पनि फरक गतिमा किनभने रेल र जेटको त कतै केही छिनका लागि भए पनि रोकिने स्टेशन हुन्छन् तर यो संसारको वेग रोकिने स्टेशन थिएन । यस्तो वेगलाई पनि परास्त गर्न सक्ने एउटा फुच्चे जीवाणु जन्मियो जसको नाम कोरोना राखिएको छ ।
म यही विश्वको एउटा कुनाको केही वर्गमिटर ओगटेर बसेकी उन्नाइस वर्षीया किशोरी जसको सपनालाई बर्सातको भेलले बगाएर लगेको छ र केही पर पुर्याएर थुपारिदिएको छ । म थुनिएकी छु । लकअपमा हैन लकडाउनमा ।
आमाको करले भान्छासम्म पुग्छु । अनि बाबाको करले करेसाबारीसम्म । पेरिस्, सिडनी, बाली जाने सपना देख्थेँ म । अहिले मैले पुग्ने सबैभन्दा टाढाको स्थान नुन पसल भएको छ । प्रकृतिको काख नजिकै हुर्किएर होला झरना, छहरा, खोलासँग मेरो छुट्टै नाता छ तर अचेल म तिनलाई टाढैबाट हेरेर मात्र बसेकी छु ।
मैले यो लकडाउनमा केही पाएकी छु । महँगा किबी, स्ट्रबेरी, ड्रागन फ्रुट खान नपाए पनि ऐंसेलु र काफल चाखेकी छु । नयाँ मान्छे भेट्न नपाए पनि आफ्ना मान्छेहरूसँग बसेर बाँच्न पाएकी छु । सामाजिक गतिविधि विनाको समाज देखिरहेछु जुन मेरा लागि नौलो कुरा हो ।
समय कटिरहेछ । दिन बितिरहेछन् । मनमा अलिअलि डर छ, किनभने यति बेला मैले आफूलाई सन्तुष्ट पार्ने केही पनि काम गरेको छैन । पढाइको डर छ । भविष्यको डर छ । जिन्दगी नै नरहला भन्ने डर छ । डरैडरमा पनि नडराइ बस्नुपरेको छ । यस्तो बनाएको छ कोरोनाले । कोरोनाले ल्याएको लकडाउनले ।
सामाजिक सञ्जाल खोलेर यसो हेर्यो थरीथरीका परिकार देख्छु । मुखमा पानी आउँछ । त्यो पानी ननिल्दै अर्को सोचाइ आउँछ — हिजो उब्जाएकोले त आज मज्जाले खाइरहेका छौं । आज घरभित्र आरामले बसिरहेका छौं, न केही उत्पादन छ न खेती छ न उद्योग न त त्यतातिर ध्यान । आज त खायौँ । यसरी नै लकडाउनका दिन थपिंदै गए भने भोलि के खाने ?
अल्लारे दिमाग त हो ! यस्तो खाली समय पाएपछि केके सोच्छ केके ! कहिले आकाशको तारा भए ठाउँ पुग्ने कुरा सोच्छ । छिनभरमै आकाश पुग्न त धरती छोड्नुपर्छ भन्ने डरले सताउँछ । यस्तै कुरा सोच्दै झ्याल छेउमा बसिरहेकी थिएँ, नानी… नानी … भन्ने आवाजले मेरो सोचाइ भङ्ग भयो । अलिअलि झस्किएँ । आमा हुनुहुँदो रहेछ । बोलिरहनुभएथ्यो, “फेरि लकडाउन थपियो रे । कति दिनलाई थपिएछ हेर न ।”






