लकडाउन ! कस्तो शब्द बारम्बार सुन्नुपर्ने दिन आए ! आँखाले देख्न पनि नसकिने जीवाणुले गर्दा आज विश्वका प्राय: सबै मुलुकमा लकडाउन गरिएको छ । यसबाहेक अरू केही उपाय बाँकी राखिदिएन कोरोना भाइरसले ।
म काठमाडौंमा बीबीए पहिलो सेमेस्टरमा पढ्दै छु । २०७६ चैत २९ गतेदेखि बोर्ड परीक्षा हुन्छ भन्ने खबर पाउँदा नपाउँदै हल्ला चल्योः अब लकडाउन हुन्छ रे, सबै शैक्षिक संस्था अनिश्चित कालसम्म बन्द हुने रे ।
म बोर्ड परीक्षा सकेर मात्र घर जाने भनेर पढाइमा ध्यान लगाएर बसेकी थिएँ । लकडाउन हुने खबरले मलाई जाँच नदिईकन हतारहतार घर जान बाध्य बनायो । मेरा कलेजका सबै साथीहरू पनि आ-आफ्ना घर गए । परीक्षा सरेपछि काठमाडौंमा बसेर के गर्नु ? न यहाँ आफ्नो घर न आफ्नो परिवार !
सुरुसुरुमा त मलाई लकडाउन त्यति ठूलो जस्तो लागेको थिएन । परीक्षाको तयारी गर्ने बिदा जस्तै लागेको थियो । घर आएपछि पनि खुब पढेँ । लकडाउन एकदुई हप्ता मात्र हुने होला, त्यसपछि पहिलाको जस्तै सामान्य भइहाल्छ र हाम्रो परीक्षा पनि तोकिएकै मितिमा हुन्छ भन्ने सोचेकी थिएँ । तर लकडाउन खुल्ने बेलामा लम्बियो रे भन्ने खबर आयो । यसले गर्दा एकचित्त भएर पढ्न थालेको मेरो ध्यान पढाइबाट हट्न थाल्यो । त्यसपछि म पढाइमा मात्र ध्यान नदिई घरका अरू कामकुरा सिक्न थालें ।
सधैं यताउता गरिरहने सबै मान्छेको आवतजावत घटेको देख्दा मलाई अचम्म लाग्यो । कस्तो अजबको भाइरस हो यो जसले सबैलाई घरभित्र थुनिदियो जस्तो लाग्थ्यो । मनमनै कताकता परीक्षाको डर पनि थियो । विदेशमा ठाउँठाउँमा यति जना यसरी मरे, लकडाउनले गर्दा यति जना आपत्मा परेका छन् भन्ने थाहा पाउँदा डरभन्दा पनि विरक्त लागेर आउँथ्यो ।
नेपालमा पनि संक्रमण दिनदिनै बढेको सुन्दा अत्तालिन्छु । मेरी फुपू दिदीकी छोरीले एसईई दिनुपर्ने थियो । ऊ परीक्षा दिन पूरै तयार भएर बसेकी थिई । उसको पढाइ अझ राम्रो बनाउन भनेर फुपू दिदीले स्कूलको होस्टेलमा हालिदिनुभएको थियो तर लक डाउनले गर्दा उसको परीक्षा स्थगित भयो । एसईई दिन भनी तीन-चार महिनाअघिबाट होस्टलको फि तिर्दै बसेका विद्यार्थीहरूको पनि पढाइ मात्र होइन मानसिक अवस्था पनि बिथोलियो भन्थी रे बहिनी ।
लकडाउन भएको धेरै दिन भइसक्दा पनि कलेजले हामी विद्यार्थीको हालखबर कस्तो छ भनेर सोधेन । पछि एक्कासि अनलाइन क्लास लिनुपर्छ भन्ने सूचना आयो तर सबै साथीहरूका घरमा इन्टरनेट सुविधा नभएकोले अनलाइन क्लास अहिलेलाई नगर्ने भन्ने कुरो भयो । हुन पनि हो इन्टरनेट सुविधा काठमाडौंमा जस्तो सबैतिर कहाँ छ र ! कनेक्ट भइहाले पनि सुस्त भएर घुमेको घुम्यै गरिरहन्छ । भिडियो कल गर्ने त कुरै छाडौँ ।
सुरुसुरुमा मेरो गाउँमा लकडाउनले गर्दा मान्छेहरू गम्भीर भएर घरभित्रै बसेका थिए। आफ्नो सुरक्षामा ध्यान दिने गर्थे । दूरी नै यसको दबाई हो भन्ने हिसाबले एकअर्काबाट अलिक टाढा बस्ने गर्थे । बाहिर हिंड्नुपर्दा जो कोहीले पनि मास्क लगाएर हिंड्ने गर्थे । यो सब देख्दा घरीघरी हाँसो पनि लाग्थ्यो कि मान्छेलाई मरिन्छ कि भन्ने कति डर हुँदो रहेछ, आखिर एकदिन त मर्नै पर्छ । तर लकडाउनको मिति जतिजति लम्बिदै छ, मान्छेहरू घरमा बस्दाबस्दा उति बढी आत्तिन थालेका छन् । त्यसैले आजभोलि गाउँमा मानिस बाक्लै ओहोरदोहोर गरेको देख्छु । म पनि आजकल घरभित्र बस्दाबस्दा वाक्क लागेर आफ्नै गाउँघरमा वरिपरि घुम्न निस्किरहन्छु।
गाउँ पस्ने गौँडामा जाँच कडा गरेकोले नयाँ मान्छे त गाउँमा आउन पाएका छैनन् ।
लकडाउनले ल्याएको अप्ठ्यारो आफ्नो ठाउँमा छ । तर यसले धेरै कुराहरूको महसुस गराएको छ । जस्तैः थुनिएका जनावरहरू कति नराम्रोसँग बन्धक बनेर जिउने गर्दा रहेछन् । मानिसहरू आफ्नो देखावटीपन बिना पनि आफ्नो समय बिताउन सक्ने रहेछन् । मैले थाहा पाए अनुसार यो रोग सडकमा बस्ने या दिन रात नभनी काम गर्ने मानिसहरूलाई भन्दा काम नगरे पनि खान पुग्नेहरूमा बढी लाग्दो रहेछ । रोगले हामीले जस्तो धनी-गरिब भनेर विभेद गर्दो रहेनछ । अप्ठ्यारो परिस्थितिसँग लड्ने आत्मबल धनीहरूसँग भन्दा गरिबहरूमा बढी हुने रहेछ भन्ने कुराको महसुस गराएको छ । कतिपय काम घरपरिवारसँगै बसेर पनि गर्न सकिंदो रहेछ । प्रकृतिलाई जस्तो व्यवहार गर्छौं उस्तै व्यवहार हामीले भोग्नु पर्ने रहेछ । अहिलेको संकट हामी मानिसकै लापरबाहीले गर्दा त आएको हो । त्यसकारण यसरी लापरबाही गरेर पछि पछुताउनुभन्दा पहिल्यै विचार पुर्याउनुपर्छ भन्ने कुराको स्मरण लकडाउनले गराएको छ ।
अर्को सकारात्मक पक्ष के देखेकी छु भने लकडाउनले गर्दा धूवाँ-धूलो र प्रदूषण कम भएर वातावरण स्वच्छ भएको छ । पृथ्वीको ओजोन तह पनि तंग्रदै गएको होला जुन हामी सबै प्राणीहरूका लागि खुसीको कुरा हो ।
लकडाउन कहिलेसम्म लम्बिने हो अझै थाहा छैन । त्यसैले यस्तो गाह्रो समयमा घरभित्र थुनिनुपर्यो भन्ने नसोची घरमै बसी नयाँ कुराहरू सिकेर समयको उपयोग गरौँ । अहिले हामी आफ्नै घरभित्र मात्र सुरक्षित छौँ भन्ने कुरा बुझौं र हाम्रो सुरक्षाका लागि दिन रात नभनी खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरूले भनेको मानेर उनीहरूलाई सहयोग गरौं । आशा गरौँ यो लकडाउन छिट्टै खुल्नेछ र हामीले नयाँ जीवन पाउछौं ।






