लकडाउनका बेला घर बस्दा समाचार र सामाजिक सञ्जालमा जता पनि नराम्रो कुरा देखेँ । त्यसैले सरकारी कामकारबाही अस्तव्यस्त भएको विरोधमा प्रदर्शन गर्नुपर्छ भनेर मलाई पहिलादेखि नै लागेको थियो । विरोध प्रदर्शनमा मैले पनि जानुपर्छ भन्ने सोचेँ । यस कामको नेतृत्व कसैले गर्छ भने म त्यसमा भाग लिन तयार भएँ । तर पोखरामा यस कामको नेतृत्व गर्न कोही अघि सरेन । त्यसैले मैले मेरा साथीभाइ, दिदीबहिनीलाई हामीले केही न केही गर्नुपर्छ भनेर कुरा गरेँ ।
यो एकदमै डरालाग्दो समय हो । कोरोनाबाट त बचिएला तर देशको स्थिति डाँवाडोल भयो भने त हाम्रो जीवन अन्धकार हुन्छ । त्यसैले अहिले केही गर्नुपर्छ भनेर मलाई महसुस भयो ।
साथीहरु ‘कोरोना नभए त म पनि विरोध प्रदर्शन गर्न निस्कन्थेँ’ भन्थे ।
खोलामा कोही डुबिरहेको बेला खोला फोहोर छ, सफा भएपछि जाउँला भनेर पर्खिनु त भएन नि । यसबीचमा काठमाडौं लगायत धेरै ठाउँमा प्रदर्शन भयो । मलाई हामी पोखराका युवाहरुले पनि विरोध गर्नुपछि भन्ने लाग्यो ।
म पहलिादेखि नै दृढ स्वभावको मान्छे हुँ । कुनै पनि कुरामा लागे पछि त्यसलाई निरन्तर रुपमा अघि बढाउन मन लाग्छ ।
पढाइमा राम्रो अंक आओस् भनेर हामी कति समय अघिदेखि तयारी गर्छौं । देश राम्रो बनाउन पनि एक दिन मात्रै दिएर हुँदैन । काठमाडौंमा निरन्तर प्रदर्शन भइरहेको देख्दा पोखरामा पनि गर्नुपर्छ भन्ने लाग्यो । तर त्यसो भएन । एक दिन भयो । त्यसपछि रोकियो । यसबाट म खिन्न भएँ किनभने हाम्रा माग पूरा नभएसम्म विरोध प्रदर्शन निरन्तर रुपमा हुन्छ भन्ने मलाई लागेको थियो ।
म घर बस्न सकिनँ । मैले अवाज उठाउनुपर्छ भन्ने लाग्यो । सबैले आआफ्ना ठाउँबाट विरोध गर्ने हो भने हामी अवश्य पनि सफल हुन्छौं । कतिले मान्छे धेरै भेला हुन्छन् भने आउने कुरा गरे । तर समय एकदमै नाजुक थियो । अरु मान्छेलाई पर्खिरहने कुरा थिएन । त्यसैले म एक्लै जान थालेँ । पहिलो र दोस्रो दिन म एक्लै ३ घन्टा बसें । तेस्रो दिनदेखि अरु साथीहरुले साथ दिनुभयो । नौ दिनदेखि हामी निरन्तर विरोध गरिरहेका छौँ । म जहिले ३ घण्टा विरोधमा बस्ने गर्छु । अरु साथीहरु समय मिलाएर बस्नुहुन्छ ।
मानिसहरुबाट राम्रो प्रतिक्रिया पाएको छु । पुलिस प्रसासनबाट अनि मिडियाबाट पनि राम्रो प्रतिक्रिया पाएँ । कतिले ‘एक्लै गएर केहि हुन्न, कति दिनसम्म जान्छस ?’ पनि भने । हरेक मान्छेको सोच्ने हेर्ने दृष्टिकोण फरक हुन्छ । त्यसैले मैले त्यस्ता कुरालाई नकारात्मक रुपमा लिएको छैन । म आफ्नो कुरामा लागिरहेकी छु ।
कुनै कामको परिणाम आजको भोलि आउँछ भन्ने हुँदैन ।
लकडाउन मात्रै समाधान होइन । सावधानी अपनाएर मात्रै पनि भएन नि । सामाजिक सञ्जालमा कमेन्ट र सेयर गरेर मात्रै हुँदैन । सामाजिक सञ्जालले पूरै विश्व हल्लाएको छ । तर त्यतिले मात्र हुँदैन । मैले २४ घण्टामा ३ घण्टा देशका लागि दिइरहेकी छु । देशको भविष्य राम्रो होस् भनेर । अरुले पनि धेरै नभए पनि १ घण्टा या आधा जति हुन्छ प्रर्दशनमा समय दिनुपर्छ । सोसल मिडियाबाट पनि आवाज उठाउनुपर्छ । सडकमा पनि निस्कनै पर्छ । लाखौंले आवाज उठाउने हो भने हाम्रो भविष्य उज्ज्वल हुन्छ ।
म भन्छु हरेक पार्टीका मान्छे उठ्नुपर्छ । आफ्नो पार्टीको होइन देशको स्वार्थ हेर्नुपर्छ । देश बनाउन सबै लाग्नुपर्छ ।
मेरो एक जना बहिनी छे । उसको नाम चाहिँ नभनौं । ऊ पढालेखा नै हो । मलाई फोन गरेर ‘दिदी म पनि आउँछु है’ भनी । तर तपाईंले उठाएको एमसीसीको कुराबारे मलाई केही थाहा छैन भनी । म ट्वाल्ल परेँ । अहिले एमसीसी र कोभिडबारे सामाजिक सञ्जालमा, मिडियामा जताततै कुरा भइरहेको छ । तर उसलाई थाहा छैन रे ।
यो कुराले मलाई चोट पुर्यायो। मैले सोचे ऊ जस्ता कतिलाई यसबारे थाहै छैन । त्यसैले अहिले म यी विषयबारे जनचेतना फैलाउन लागेको छु । प्लेकार्डमा बुदाँ बनाएर प्रदर्शन गर्न जाँदैछु । एक जनालाई मात्रै भए पनि बुझाउन सकेँ भने त्यो मेरा लागि ठूलो उपलब्धि हो ।
म घरमै बसेको भए मलाई तनाव हुन्थ्यो होला । अहिले जताततै यही विषयमा कुरा हुन्छ । साथीसँगको फोनमा, गफमा, च्याटमा । तर त्यतिले मात्रै पुग्दैन । मानिस सडकमा आउनुपर्छ भन्ने मलाई लाग्छ । धेरै मानिस सडकमा आए भने सरकारले हाम्रा कुरा सुन्छ । राम्रो काम गर्न ढिलो गर्नु हुँदैन । अहिले नगरे कहिले गर्ने ?
सुरुका ५ दिन हामी जिल्ला प्रशासन कार्यालयको नजिक बस्यौं । त्यहाँ स्थानीय मानिस कम आउँथे । त्यसैले स्थानीय मानिस अलि धेरै आउने, मानिसको चहलपहल अलि धेरै हुने ठाउँमा बस्नुपर्छ भनेर मानिसले सल्लाह दिए । त्यस यता चार दिनदेखि महेन्द्रपलु, बिपी सालिक नजिक बसिरहेका छौँ ।
हेर्दै जाऊँ, कति समय बस्छु । मैले तीन महिनासम्म बस्ने अठोट गरेकी छु ।
तपाईं हाम्रो आवाजले सरकार फेरिन्छ । राजतन्त्र कसरी हटेको थियो भन्ने कुरा नभुलौँ । परिवर्तनका लागि सहयोगी हात बढाउन संकोच नमानौं, डर नमानौं ।
यो कथा शिरीष गुरुङसंग गरीएको कुराकानीमा रहेर अनुषा स्वाँरले लेख्नु भएको हो ।




